Wednesday, May 1, 2024
Generalसमाजसाहित्य

Premchand ka kehi kathahoru: KATRO by Loknath Upadhyay

      आफ्नो झुप्राको ढोका बाहिरपट्टि निम्न लागेको अगेनाको छेउमा घीसू र उसको छोरो माधव बसेका थिए । भित्रपट्टि माधवकी पत्नी बुधिया प्रसव वेदनामा चिच्याइ रहेकी थिइ । असहनीय पीड़ाले समय-समयमा निस्केको उसको आर्तनादले बाबु-छोरा दुवै अधैर्य हुन्थे।

    हिउँदको रात। परिवेश चकमन्न थियो । सारा गाउँ अँध्यारोले ग्रास गरिसकेको थियो। घीसू भन्छ, ‘बाँच्दिन होला। सारा दिन कुदा कुदमै बित्यो। जा हेरेर सम्मत आइज’।

   माधवले झर्केर भन्यो, ‘मर्नु नै छ भने छिट्टै मरिहाल्नु नि। हेरेर चाहिँ के गर्ने’?

   ‘तँ त अचम्मको निष्ठुरी पो रहेछस् त । वर्षभरि जोसँग यति आनन्दले बसियो उसैसँग यति निर्दयी’।

   ‘म त उसले हातखुट्टा फ्याँक्तै चिच्याउँदै गरेको हेर्न सक्तिन’, माधवले बिस्तारो बिस्तारो भन्यो ।

   मोची पाड़ा थियो। यिनीहरू दुवैको दुर्नाम थियो। घीसू एकदिन काम गऱ्यो भने ३ दिन आराम गर्दथ्यो। माधव कस्तो कपटी थियो भने आधा घण्टा काम गर्दा एक घण्टा चिलम तानी बिताउँथ्यो। यसैकारण यिनीहरूलाई कसैले काम लगाउँदैन थिए। घरमा १/२ मुठी खाने कुरो छ भने दुवैजना काम गर्न निस्किदैन थिए। २/४ मुठी केही फक्याउँन भेटे भने घीसुले रुखबाट दाऊरा भांची ल्याउँथ्यो अनि माधव बजारमा लगी बेचेर आउँथ्यो। यति पैसा हातलागी भएपछि ता मस्तीमा यता उता इली हिँड्थे ।

   ‘कर्मी मानिसलाई त गाउँमा कामको के अभाव ? खेति किसान बसोबास गरेको गाउँ थियो, जांगरिला मानिसलाई त कामको खाँचो नै थिएन । तर ती दुई बाबु छोरालाई यस्तो खाँचोमा मात्र बोलाउँथे जहाँ एकजनाको काम दुईजनाले सकिदिए भनेपनि सन्तोकै मान्नु पर्थ्यो । विचित्र स्वभावका मानिस भिए दुवै बाबु-छोरा । सांच्चै भन्ने हो भने सन्तोक र धर्यको लागि चाहिँ सन्त महात्मा नै भने सुहाउँथ्यो ।

   यदि दुवै जना साधु हुन्थे भने उनीहरूलाई सन्तोष र धैर्यका लागि कुनै संयम या नियमको निस्पत्ति प्रयोजन पर्ने थिएन। उनीहरूको प्रकृतिनै स्वतः त्यस्तै थियो । अनौठो जीवन पद्धति थियो यिनीहरूको । घरमा दुई-चारवोटा माटाका भाँड़ा छोडेर सम्पत्तिका नाममा बुच्चे ठेकी भन्न सुहाँउथ्यो । दुई-चारवोटा फाट्न लागेका चिथ्राले लज्जा निवारणसम्म गरी निर्ढुक्क थिए। संसारको चिन्ताबाट मुक्त, ऋणका बोजाले थिचिएका, कसैको गाली गलौज सुन्न, दुई-चार थप्पड खानुमा कुनै फिक्रिनै नगर्ने। त्यतिनै दरिद्र कि फिर्ता पाउने कुनै आशानै नभए पनि उस्तै गल्झोमा गाउँका मानिसहरूले उनीहरूलाई केही उधारो दिने गर्दथे।

   आलु मटरको खेतिको बेला अर्काका खेतबाट आलु मटर अलि अलि ल्याउँथे र राति त्यही भुटभाट गरी खाने गर्थे। फेरि कुनै कुनै दिन कतैबाट उखु उखेली ल्याउँथे र राति त्यही चुस्ने गर्थे। यस्तै पाराले घीसू ६० वर्षको भैसकेको थियो जब उसको छोरो माधव बाबुको विंडो अति कुशलताले थाम्न जान्ने युवक बनेको थियो। यसबेला पनि उनीहरू अगेनाको छेउमा कतैबाट जुटाएको आलु पोली खान बसेका थिए ।

  घीसूकी बुढ़िया त धेरै वर्ष अघिनै परलोक गमन गरेकी थिई। माधवको बिहे गतवर्ष भएको थियो। यस आइमाईले घरमा पनि निकै परिपाटी पारेर दुवै निष्कर्माको लाद्रोसम्म भराउने चाहिँ पारिसकेकी थिई । बुहारी आएपछि उनीहरू अझ आराम प्रिय हुनाका साथै केही दाबी गर्ने पनि भएका थिए । कसैले काम गर्न बोलाए भने दोबर मजदुरी दावी गर्दथे । यस्ती लच्छिनकी बुहारी आज प्रसव वेदनामा मर्न आँटेकी छ तर यी दुई निष्कर्मा शायद यही चिन्ता गरी बसि रहेका थिए कि यो मरी भने बरु ढुक्क होला।

   आलुका बोक्रा तास्दै घीसु ले भन्यो ‘जा त गएर हेरेर आइज के अवस्था रछ । कस्तो चाहिँ जन्मने रछ को नि, यहाँ त धामी झाँक्री बोलाए पनि रु. १ ता मागी हाल्छन् ।

   माधवलाई डर थियो ऊ हिंड्ने बित्तिकै घीसूले ठूला धेरै मोटा आलु हड़प्न सक्छ । त्यसैले भन्छ ‘मलाई त त्यहाँ जान डर लाग्छ’।

  ‘किन डराउनु म यहाँ छँदै छु त’ घीसु भन्छ।

  ‘त्यसो भए तिमीनै गएर हेरेर आउनत’ माधव भन्छ।

   ‘मेरी आइमाई मर्न आँट्ता म ३ दिनसम्म उसका छेउबाट हल्लिएको पनि थिइन् । अर्को कुरा म जाँदा उसले लाज पनि त गर्छनी । किनभने आजसम्म मुख पनि हेरेको छैन, लुगा र जीउको केही होस नभएको यस्तो हालतमा हेर्न जानु हो भने उसलाई कति मुस्किल पर्छ’ घीसूले भन्यो । माधवले चिन्ता व्यक्त गर्दै भन्यो, ‘बालक जन्मियो भने चाहिँ के गर्ने ? घरमा तातो छारो केही छैन’।

   बेफिक्री पाराले घीसू भन्छ ‘भगवानले सबैथोक जोहो गरिदिन्छन। ज-जसले अरु बेला केही दिन खोज्दैनन् उनीहरूले यस्ता बेलामा बोलाई बोलाई दिन्छन । मेरा नौ वटा छोरा-छोरी जन्मिएका, खोई त भगवानले हरेक खेपनै पार लगाए।
भोकै-तिखें, थकाइ-आलस्य बिर्सी दिनभरि मिहिनेत गर्दा पनि भरपेट अन्न जुटाउन नसक्ने कृषक र मजदुरको अवस्थाको विपरीत कुनै मिहिनेत नै नगरी साउँ ब्याजको हिसाब मिलाएरै मडैया मार्न पुग्ने भाग्यवान समाजमा छन् भने, घीसूको जस्तो हीन भावना उब्जिनु स्वाभाविकनै हो। आफ्ना हड्डी घोटेर दिनरात मिहिनेत गर्ने किसानका विपरीत घीसूलाई उनले विचारवानको पंक्तिमा राख्दै भनेका छन् चिन्ताज्ञान शून्य, साहस विहीन कृषकका समूहमा बस्नुभन्दा बरु खराब सँगतमा आत्मसन्तुष्टि लिई बस्नु बेस होला। उसमा यति संयम थिएन कि धनी मानीहरूले जे जसो भन्छन् त्यसै गर्दै जानु । यस्तै विचारमा परिचालित भएकाले उसका वंश परिवारका मानिस गाउँका मुखिया र ठूला ठूला पदवी धारी बनिसकेका विपरीत ऊ चाहिँ घृणाको पात्र भएरै बाँचेको थियो।

   दुई जनानै आलु निकाल्दै कपाकप खाँदै गर्न लागे । हिजो देखिका भोका थिए । आलु सेलाउन दिनसम्म पनि पर्खिने उनीहरूमा धैर्य थिएन । धेरैचोटि उनीहरूको जिब्रो नै पोलेको थियो । बोक्रा तासेपछि आलु बाहिर-बाहिर त्यति तातो जस्तो अनुभव नभए पनि दाँतले टोक्ने साथै जिब्रो, तालु पोलेर खपि नसक्नु पार्दा हतार हतार गरी निलिदिन्थे। किनकि उनीहरूको सोचाइ अनुसार भुँडीमा पुगेपछि त्यसलाई तातो चिसो पार्ने अनेकौं व्यवस्था हुन्छन् । त्यसैकारण बाबु, छोरा दुवै हतार हतार निल्दै गर्नमा व्यस्त थिए । अवश्य यसो गर्नाले उनीहरूका दुईटै आँखाबाट आँसु बगिरहेका थिए।

   त्यसबेला घीसूलाई २० वर्ष अघिनै ठाकुरको जन्ती गएको कुरो सम्झना आयो । यस विवाहमा गरिएको जन्तीको आदर सत्कार आज पनि अन्तरमा आलै छ। उसले भन्यो ‘त्यो भोज बिर्सन सकिँदैन बिर्सिनु हुँदैन पनि । त्यस उप्रान्त आजसम्म त्यतिको भोज भाग्यमा जुटेको छैन। घर गाउँलेले साना ठूला सबै जन्तीलाई शुद्ध घिउका पुरी सब्जी भरपेट खुवाए। उसले मुख मिठ्याउँदै भन्यो – किसिम किसिमका तरी तर्कारी, दही, मिठाई अरू के के भनौं तँलाई ।’ यस्तो तृप्ति पाइएको थियो जसको पुनरावृत्ति भएको छैन । जति चाहियो, जे-जे चाहियो निर्ढुक्क माग, अनि खा । यति खाइएछ की पानी पिउने ठाउँ पनि भुँडीमा रहेनछ ।

   भान्से उस्तै थिए, भयो भयो भन्दापनि पुरी सब्जी थपेका थपै छन्, हातले खाएको थाल छोप्दा पनि धर पाइँदैन्थ्यो ।

   हातमुख पखालेपछि पान अलैंचीले मुख शुद्धि । तर छक्क पर्ने कुरा के भने खाँदा खाँदा उभिन पनि नसक्ने भएको त्यो अवस्थामा पानको खिल्ली कहाँ अटाउने ! हत्तपत्त गएर आफ्नो कम्बल ओढी सुतें । कति दिलदार थिए ती ठाकुर साहेब ।’

   माधवले सुनेर नै तृप्ति लिंदै भन्यो, ‘आजभोलि त्यत्तिको उदारचित्त कहाँ पाइएला र?’

   अब, ‘अचेल मानिसलाई आफूलाई नै थोर भइराखेको हुन्छ अर्काको लागि चिन्ता गर्ने कसको फुर्सद,’ भन्छ घीसू ।

   ‘त्यो जमाना अर्कै थियो । अचेलभरि त मान्छे कञ्जुस भए । आजभोलि पनि दुखी गरीबलाई चुसेर, लुटेर कमाउनेको त खाँचो छैन। तर खर्च गर्नमा मुठ्ठि बाँधेका हुन्छन् । न त बिहै मै खर्च गर्छन्, न क्रिया कर्ममा। प्रश्न गरौं त गरीबलाई लुटेर कमाएको सम्पत्ति कहाँ राख्छौ ? भनी बटुल्न त खाँचो छैन तर खर्च गर्न भने दाँत बाट पसिना चुहुन्छन’-घीसू भन्छ।

   ‘तिमीले गोड़ा बिसेक पुरीता पक्कै खाएका थियौं हैन’ माधव प्रश्न गर्छ।

   घीसू फुर्कदै भन्छ, ‘बढ़ी नै खाएँ होला।’

   माधवले कल्पनामै भन्छ, ‘म भएको भएता ५० वोटा हसुर्ने थिएँ’।

   ‘मैले पनि ५० त पुऱ्याएको थिए होला कि । हट्टा कट्टा थिएँ त्यसबेला, तँ त मेरो आधा पनि छैनस्,’ भन्दै घीसू आफ्नो बढ़ाई गर्छ ।

   दुईजना नै आलु खाँद यस्तै गफ गर्दै अगेनाको छेउमा – दुइटा ठूला-ठूला अजिङ्गर गुडुल्किएर सुतिराखेका जसरी नै आफ्नो च्यादर ओड़ी लम्पसार परे।

   उता कोठाभित्र मझेरीमा बुधीया लड़िबड़ि गर्दै प्रसव वेदनामा कराइ रहेकी थिई ।

   बिहान माधव उसको कोठामा पस्दा उसकी आइमाई रातिनै मरेर मुखमण्डलमा झिंगा भन्किरहेको देख्यो । धूलै धूलो ले मुछिएको उसको शरीर, एकोहोरो भइसकेका उसका आँखा, पेटमा भएको बालख मरी सकेको देखी माधव चिच्याउँदै घीसू सामु आयो र दुवै चिच्याई चिच्याई रुन लागे ।

   उनीहरूको क्रन्दन सुनेर सामाजिक परम्परा रक्षा गर्दै छरछिमेकीहरू हतार हतार घीसूका घरमा भेला भई बाबुछोरा लाई सान्त्वना दिन लागे । तर धेरै बेर रुवावासी गर्ने समय थिएन दाउरा कात्रोको पनि व्यवस्था मिलाउनै थियो। यिनीहरूको घरमा त भुटे भाङ पोले पिँडालु भनेझैँ केही नै थिएन ।

   बाबुछोरा रुँदैरुँदै गाउँका जिमीन्दारका घरमा पुगे। यिनीहरूलाई जिमीन्दार यति घृणा गर्दथे कि काममा ढाँटेका रिसले एक दुई लबटा आफ्नै हातले हानि सकेका थिए ।

   तैपनि सोधे ‘के भयो ऐ घीसे। हिजो-आज त तँलाई देख्न पनि पाईदैन त। यस गाउँमा बस्नु छैन कि क्या हो’।

   अभिनय कुशल घीसू निधार भुईमा टेकाउँदै आँखाबाट आँसु झार्दै भन्छ “हजुर भनौं सारो नभनौं पऱ्यो गाह्रो, बड़ो संकटमा छु। माधवकी बुढ़ी रातभरि औधिनै कष्ट पाएर मरी। अबता घरमा यसो रोटि सेकिदिने पनि कोही छैनन् । हामी त मास्सियौं मालिक । घरको शोभानै सकियो । हामी त तपाईंकै सेवक हौं। यस्तो अवस्थामा हामीलाई उकासने तपाई बाहेक को छ र? हाम्रो हातमा जे जसो थियो दवाई पानीमै सकियो । मालिकको कृपा भएमात्र त्यसको सद्गति होला । तपाईलाई छाड़ी अन्यत्र जाने ठाउँ कहाँ छ र’?

   जमिन्दार साहब दयालु थिए। तर जान्दथे घीसू जस्तालाई सघाउनु अर्थहीन हो ‘जा हट मेरा दैलाबाट बेइमान, काम गर्न बोलाउँदा पनि नआउने अहिले गल्झो टार्नु परेर चाप्लुसी गर्दछस्’ भन्न उनलाई मन लागेको थियो । तर मौका बेमौकाको ज्ञान उनलाई थियो । त्यसैले सोचे यिनीहरू न जिउँदा का जन्ती न मर्दाका मलामी। त्यसैले चुपचाप भित्रबाट रु. २ ल्याएर उसका अधि फ्याँकि दिए, तर उनले बिर्सेर पनि सान्त्वनाका दुई शब्द भनेनन, न त उसको अनुहार पट्टिनै हेरे, झन्झटनै पन्छियो भन्ठाने ।

   जमिन्दार साहब का नाममा माला जप्दै घीसू र माधवले गाउँका महाजन, व्यापारीहरूबाट दुई चार आना गर्दै पाँच रुपियाँको पुंजी एकैछिनमा भेला पारे यसै क्रममा लाश जलाउने दाउरा पनि भेला भए। केहीबेरमा घीसू र माधव कात्रो किन्न बजार गए। गाउँका मानिसले बांस काटी चाहिँदो तयारी गरे।

   गाउँका दयालु महिलाहरू आउँदै लाशको बिल्लिबाठदेखि दुईथोपा आँसु खसाउँदै जान लागे ।

   बजार पुगेर घीसूले भन्यो, ‘उसलाई जलाउन पुग्ने दाउरा भेला भए होइन माधव’।

   माधवले भन्यो ‘हो दाउरा त मनग्यै छन्, अब कात्रो चाहियो’।

   ‘त्यसोभए हिँड़त काम चल्ने कात्रो कतैबाट किनी ल्याउँ’।

   ‘अब लाश उठाउँदा अध्याँरो भइसक्छ कात्रोको कसले विचार गर्छ र’!

   ‘समाजको रीति नीति पनि कस्तो, जिउँदो छँदा जसको आङ ढाक्ने लुगा पनि जुट्दैन मरेपछि चाहिँ नयाँ कात्रो नभइ नहुने’, भावुक भई भन्छ घीसू। ‘कात्रो त लाशसँगै जली हाल्छनि’ माधव भन्छ।

   ‘हो त यो त डड़ी हाल्छनि। यति पाँच रुपियाँ पहिले नै भेटेको भए केही दवाई मूलो त गर्न पाइन्थ्यो,’ घीसू भन्छ।

   दुवैले एक-अर्काको मनोभाव छामे । बजारमा ओल्लो पसल पल्लो पसल गर्दै निकै डुले। तरह तरहका रेशम, सूतीका कपड़ा हेरे तर उनीहरूले ठानेजस्तो कहीं नै फेला पार्न सकेनन्। यसै गर्दै गर्दै साँझ भयो र कुनै दैव शक्तिको प्रभावले नै होला एउटा मधुशालाका सामु पुगे अनि मन मनै सोच्दै आएझैँ नै त्यहाँ पसे । के खोज्छस् काना आँखो भनेझैँ नै भयो दुवैलाई।

  त्यहाँ पसेर केहीबेर अलमल्ल परेझैँ भए। तर एकैछिनमा घीसूले गद्दी छेउमा गई भन्यो साहुजी, हामीलाई पनि एक बतल दिनु त ।

   छिनभरमै तारेका माच्छा, चट्नी र अरू सामग्री पनि लिएर भट्टीका बरण्डामा दुवैजना बसी आरामले पिउन थाले । फटाफट दुईचार ग्लास पिएपछि दुईटैलाई जोश चढ्यो । घीसूले भन्यो ‘कात्रो ओढ़ाई दिए पनि बुहारीले ता भेट्ने होइन, डढ़ेरै त जाने हो’।

   माधव माथि आकाश तर्फ हेर्दै भावुक स्वरमा भन्छ ‘दुनियाँको दस्तुर नै त्यस्तो । नत्र एउटा ब्राह्मणलाई हजारौं रुपियाँ किन दान गर्नु । कसले देखेको छ यहाँ गरेको दानले परलोकमा केही सघाउ हुन्छ हुँदैन’ ?

   ‘ठूलाबड़ाका हातमा मनग्गे धन हुन्छ दान गरुन या बाडुन, हामी गरीब संग त्यसरी उड़ाउने के छ र,’ घीसू भन्छ।

   माधवले दायित्व सम्झंदै प्रश्न गर्छ ‘मानिसले खोइ त कात्रो ? भनेर सोधे भने चाहिँ के भन्ने’ ? घीसू हाँस्यो ‘अरे भाइ छोड्दैन त्यस्ता कुरा। भनिदिउँला कम्मरमा राखेका पैसा नै कहाँ झरेछन् । खोज्दा- खोज्दा गरेंउ भेटिएनन्। मान्छेले पत्याउँन त पत्याउँदैनन् तर चाहिने रुपियाँ उनीहरूले नै पुनः व्यवस्था गर्छन्’ ।

   यस्तो नचिताएको सौभाग्य आइ परेकोमा माधव पनि हाँस्यो र भन्यो, ‘साँचै लच्छिनकी थिई विचरी । विदा लिई तापनि हामीलाई खुवाई पियाई सन्तुष्ट पारेरै गई’।

   आधा बतल उड़ाई सके। घीसूले दुई सेर जति पुरी मगायो। मधुशालाको छेउमा हलुवाईको दोकान थियो, त्यसैले अचार, चटनी, जस्ता सामग्री पनि

   सामु आइपुगे । माधव जुरूक्क उठेर दुइटा पतरीमा सबै सामग्री लिएर आयो डेढ रूपियाँ जसो तिऱ्यो । अब त उनीहरूसँग थोरै पैसा मात्र बाँचे। जंगलमा कुनै सिंहले आफ्नो शिकार खाइ रहेझैँ उनीहरू कात्रो किन्न आए तापनि निर्ढुक्क बसी रक्सी पुरीहरूको स्वाद लिई रहेका थिए, न केही बदनामीको संकोच न कसैका अघि आफ्नो टाउको निहुराउनु पर्ला भन्ने चिन्ता । यस्ता व्यवहारिक भावना उनीहरूले अगावै पचाइसकेका थिए।

   दार्शनिक जस्तो भई घीसूले भन्यो ‘आज हाम्रो आत्मालाई यति प्रसन्न पारिदिई जब, तब के उसलाई पनि पूण्य हुँदैन र’ ?

   माधवले समर्थनमा टाउको निहुर्याउँदै भन्यो ‘त्यो ता हुन्छनै । अन्तर्यामी भगवानले उसलाई निश्चय स्वर्गलोक पुऱ्याउँछन्। उसलाई हाम्रो आन्तरिक आशिर्वाद छ। आज जुन तृप्तिले खान पाइयो यत्रो हउंन्जेल यस्तो सौभाग्य भएकै थिएन । बोल्दाबोल्दै झस्किए जस्तो भई बाबुलाई सोध्यो ‘हामी पनि त एकदिन त्यहाँ पुग्छौं होलानि होइन’ ?

   बेमौकामा परलोकको चिन्तागरी यो आनन्दलाई स्तिमित पार्न नखोजी घीसू चुपचाप बसिरह्यो ।

   आफ्नो कुरो कोट्याउँदै माधवले भन्यो ‘उहाँ उसले मलाई कफन किन दिएनौ भनी सोधी भने’ ?

   घीसू झ्वाकिँदै भन्छ, ‘तेरो खप्पर’।

   मात बढ्दै गएकोले माधवलाई दायित्ववोधले घच् घच्याई भन्छ ‘सोध्न चाहिँ पक्कै सोध्छे’।

   घागु भइसकेको पुरानो खेलाडी घीसू उसलाई बुझाउँदै भन्छ ‘तँ कसरी जान्दछस उसले पाउँदिन भनेर? तँ मलाई यति अनाड़ी ठान्दछस्। ६० वर्षको उमेर के मैले घोड़ाको घाँस काटेर कटाएँ ? उसले अब हामीले चिताए भन्दा राम्रो कात्रो भेट्छे’।

   माधवलाई पत्यारो नभएकाले सोध्यो, ‘कसले देला, किन्न ल्याएका पैसा त तिमीले उडाइ हाल्यौ । उसले त मलाई पो सोध्छे उसको सिउँदोमा सिन्दुर मैले हालेको होनि’।

   घीसूको आत्मसम्मान जाग्यो । झर्केर भन्यो ‘उसले कफन भेट्छे भनिरहेको छु त, किन पत्यारो नभएको’ ।

   माधवले जिज्ञासु भावनामा सोध्यो ‘कसले दिन्छ त भन न त’।

   ‘तिनै मानिसले दिन्छन् जसले अघि हामीलाई रुपियाँ दिएर पठाएका थिए। अवश्य यसपटक चाहिँ रुपियाँ हाम्रा हातमा दिँदैनन्’ अनुभवले किटिएको घीसू भन्छ।

   साँझ पर्दै जाँदा मधुशालामा अझ रौनक बढ्दै जान लाग्यो । कसैले गाउँदै नाच्दै गरेको, कसैले बदिबढ़ाईका कुरा गरेको, कसैले आ-आफ्नो मन परेकी युवती या प्रियतमालाई आलिंगन गरिरहेको अनौठो तर चिराचरित वैशिष्ट्य थामिरहेका देखिन लागे । कसैले आफ्ना साथीका मुखमा थप्पड़ लगाउँदै गरेको पनि देखिन्थ्यो त्यहाँको वातावरण नै मस्ती र नशालु बनिसकेको थियो । असलमा त्यहाँको हावा नै नशिलो बनेकाले कुनै- कुनै ग्राहक अँजुलीभरि पिउँदै लट्टु बनिएको देखिन्थ्यो-मातले होइन त्यहाँको हावा ले नै । जीवनका घात प्रतिघातले उनीहरूलाई यहाँसम्म तान्दै ल्याएको हुन्थ्यो त्यसैले केही छिनका लागि भए पनि उनीहरू बिर्सन्थे- यसो गर्दा उनीहरूको हार भयो या जीत।

   अर्कोपट्टि कफन किन्न आएका बाबु-छोरा यसै वातावरणमा मिल्दै बरण्डामा बसेर सुरुप सुरुप पारिरहेका थिए । मधुशालाका धेरैले नै उनीहरूको चाला माला लक्ष्य गर्दै थिए । सोच्दै थिए यी दुइटा कति भाग्यमानी रहेछन् पुरा बोतल सोमरस बीचमा राखी पिइरहेका छन् । आफूले खाइसकेर पनि पत्तामा बचेको जति थियो उनीहरू दुवैको आनन्द हेर्दै सतृष्ण आँखाले पातमा बचेको रोटीमा नजर गाड़ीरहेको एउटा भिखारीलाई माधवले त्यो पत्ता उठाएर दियो । अर्कालाई पनि दिने या खिलाउने आनन्द जीवनमा पहिलोपटक अनुभव गर्यो ।

   भोको भिखारीलाई हेर्दै माधव भन्छ, ‘जा लिएर जा आनन्दले भुँडी भराएर आशीर्वाद दे। आइमाईको कमाइ थियो ऊ ता विचरी मरी हाली, तैले दिएको आशिर्वाद पनि ऊसँग पुग्नेछ। धेरै कष्टले कमाएको पैसाको यो खाना हो र रोइ बस्नुभन्दा खाएर आनन्द लिँदै आशिक दे’।

   माधव आकाशतर्फ हेर्दै फेरि भन्छ ‘ऊ सोझै बैकुण्ठ जान्छे बाबु । ऊ त्यहाँकी रानी बन्ने छे। उसले त्यहाँ राज गर्छ’।

   घीसू अत्यन्त आनन्दित भई उठ्यो र भन्न लाग्यो ‘हो छोरा ऊ बैकुण्ठ नै जान्छे। कसैलाई कहिलै कुनै अप्ठ्यारो पनि त उसले पारिन । छ परलोक जान लाग्दा पनि हाम्रो जीवनको सबैभन्दा ठूलो आकांक्षा पूर्ण पारिदिई । ऊ जस्तो उदार चित्तकी आइमाई बैकुण्ठ नगएर गरीब गुरुवालाई लुटी, शोषण गरी अजस्र कमाएर यो पापको मोचन गर्न गंगा स्नान गर्ने या मन्दिर हुँदो जल चढाई हिँड्ने शोषकहरू जान्छन् त’ ?

   घीसूका अन्तरबाट बगेको यस्तो भावना र आदर्शको श्रोत एकैछिनमा बदलियो। मातले आफ्नो वैशिष्ट दर्शाउँदै एकैछिनमा उनीहरू ओइलाये जस्ता भए।

   माधव भावुक बनी भन्छ ‘तर बाबु त्यस विचरीले जीवनमा कष्ट मात्र भेटी। मर्दा पनि कति दुःख पाएर मरी’ । आफ्नो आँखा छोपी ऊ चिच्याई * चिच्याई रुन लाग्यो ।

   घीसूले उसलाई बुझाउन खोज्यो ‘छोरा किन रून खोज्दछस ? बरू खुशी मना न । संसारको जम्मै घात प्रतिघात र झन्झटहरूबाट मुक्त भई। विचरी कति भाग्यमानी रछे जसले गर्दा संसारको मोह मायाबाट ऊ छिटो मुक्त हुन सकी।’

   ‘झमझम परेली आँखामा गाजलु सम्झने कोही छैन’ भन्दै गीत गाउँदै दुवै बाबु-छोरा उभिएर गाउँन र नाँच्न लागेका थिए-अरू पीयक्कडहरू छक्क परेर हेरिरहेका थिए। यी बाबु छोरा उफ्रिदै, दगुर्दै, तरह तरहका अभिनय भङ्गी देखाउँदै, लड्दै उठ्तै गरी केही समय पछि नसाले लठ्ठ भएर सूंगुर लड़ेझैँ भुईमा लम्पसार परे।