Wednesday, May 1, 2024
समाजFemaleGeneral

Hartalika Teez

गोर्खे नारीहरूको रमाइलो चाड़ हरितालिका तीज

      जातीय कला-कृष्टि, नृत्य-गीत, आचार-व्यवहार, भाषा शैली, रन्धन-प्रणाली, खाने-पीउनेदेखि लिएर लोकाचार, धर्मीय परम्परा, रीति-नीति, जातीय चेतनाबोध यी सबै विधानहरूलाई समेटेर भारतीय गोर्खा जातिको संस्कृति एउटा ऐतिहासिक र समृद्धिशाली संस्कृति हो भनेर सबैले जान्दछन्। 

        चाड़-पर्व तथा सांस्कृतिक अनुष्ठान पालन द्वारा जाति एउटाको सभ्यता-संस्कृति प्रदर्शित हुनुका साथै त्यो जातिको ऐतिहासिक र सांस्कृतिक गरिमा बढदछ। गोर्खा लोकसंस्कृतिमा परापूर्वकालदेखि नै चाड-पर्वहरू भिन्न समुदायमा भिन्न तरिकाले मनाउँदै आई रहेका भए तापनि महान गोर्खा जातिलाई एकत्रित गराउने क्रममा साझा गोर्खा संस्कृतिको भूमिका अतुलनीय छ। त्यसभित्र मुख्यतः रूपमा भएका चाडहरू हुन- तीज,दशैं, तिहार, मकर संक्रान्ति, असार पन्ध्रआदि। 

HARTALIKA TEEZ

   लोसार,धान उत्सव, क्वान्टी,भीमसेन पूजा, च्याब्रुङ, बालन आदि पनि गोर्खा महाजातिका उत्तिकै महत्वपूर्ण संस्कार- संस्कृति हुन जति तीज, दशैं आदि। किनभने फराकिलो गोर्खा संस्कृतिको फूलबारीलाई एक एक जनगोष्ठीय फूलहरुले सांस्कृतिक परिवेश शोभायमान बनाउनुका साथ-साथै सुगन्धित बास्नाले सारा विश्वमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यसमध्ये तीज एउटा नारीकेन्द्रीक अत्यन्त महत्वपूर्ण सांस्कृतिक उत्सव हो। यही नारी प्रधान उत्सव हरितालिका तीजबारे केही चर्चा गर्न लागिरहेकी छु आजको यो लेखमा।

     तीज समस्त गोर्खा नारीहरूको एउटा अति प्यारो र महत्वपूर्ण चाड हो। यसैत सबै चाडहरू नै नारी प्रधान हुन्छन्। नारीको उपस्थिति नभए चाड अधुरा हुन्छन्। तर तीजले नारी समाजलाई छुट्टै डोह्राएर एउटा ऐतिहासिक चाड बन्न पुगेको छ। तीज शब्द ‘त्रीज’ संस्कृत शब्दबाट आएको हो। भाद्रशक्ल तृतीया, हस्त नक्षत्र र सोमबार यी तीनको संयोगमा तीज अति महत्वपूर्ण बन्दछ भनिएको छ। तीजपर्वसँग नारीको प्रेम-विरह, सुख-दु:ख, हताशा-निराशा, हाँसो-रोदनको साथै आध्यात्मिक चिन्तन पनि जडित भएको छ। यो तीज उत्सव भारतको उत्तर प्रदेश, राजस्थान, झारखंड, पञ्जाब, मध्यप्रदेश, विहार, हरियाणा आदि राज्यहरूमा पनि भक्तिभावनाका साथ पालन गरिन्छ।

      पूर्खाहरूको भनाई अनुसार अघिका दिनमा शिक्षा ग्रहण सहजलभ्य नभएकाले र बाटा-घाट, खेति-किसान, पानी-पँधेरा, वासस्थान आदि कुनै पनि सुविधाजनक थिएनन। त्यतिबेला जीवन निर्वाह गर्न मान्छेहरूलाई असाध्यै कष्ट गर्नु पर्ने हुन्थ्यो। नित्य व्यवहारिक वस्तुहरू पनि पर्याप्त हुदैनथ्यो। यी यस्ता अप्ठ्याराहरूले गर्दा आमा-बाबाले अलिकति हुनेखाने कुटुम्ब आयो भने नै टाडाकै भए पनि छोरीलाई सानै उमेरमै बिहे गरेर दि हाल्दथ्ये। बिहे भएर गए पछि घरको समस्त कामको उपरान्त पनि उसले बाहिर गएर घाँस काटने, दाउरा काटने, टाढा पानी पँधेरी बाट पानी बोकी ल्याउने, खेती-किसान गर्ने, धानका बिटा चुट्ने जस्ता कामहरू गर्नु पर्ने हुन्थ्यो। त्यस्तो देखेर / सुनेर आमा-बाबा, माइतीको मन शोकाकुल हुन्थ्यो। त्यसैले उनीहरूले बर्खामासको खेती लगाई सकेपछि छोरीलाई एकछाक राम्रो गरि खुवाउन र केही दिन माइतीघरमा विश्राम गर्नलाई भनि छोरा-भदालाई लिन पठाउँछन्। तबदेखि नै हरसाल तीज उत्सव पालन गरि आएको लागि कृषि उत्सव तीज गोर्खा महिलाहरूको महान चाड बन्न पुग्दछ। हुन त यो महिलाहरू कै चाड भएता पनि यहाँ माइतीहरूको पनि उति नै भावानुभूति जोडिएको हुन्छ।

      भाद्रशुक्ल द्वितीया तिथि बाट शुरू भएर पञ्चमीसम्म अति हर्सोल्लासका साथ यो तीज उत्सव पालन गरिन्छ। तीजमा बिहे भएका चेली-बेटीहरूले माइतीको स्नेहादर र निम्तो रक्षा गरेर सकेसम्म त्यसको दुई दिन अघि नै आमा-बाबाको घर आई पुग्छन्। द्वितीया अर्थात् “दर खाने” दिन सबैले मिलेर सुस्वादु रूपले तयार पारिएको व्यञ्जन आदि खान्छन्। जसमा माछा-मासु, दही, घिउ, क्रीम, नाना परिकारका तरकारी तिलको अचार, काँक्राको अचार,मटरको अमिलो अचार आदि पकवानहरूले घर मगमगाई रहेको हुन्छ। खाने क्रम बिहानदेखि रातिसम्म चलि रहन्छ। छेउ-छाउ नयाँ बिहे भएर आएका चेलीहरुलाई पनि यस उत्सवमा बोलाएर खुवाउने चलन छ। राति फेरि बार बजे अघि नै चामललाई केवल घिउमा भुटेर एकप्रकारको पकवान पकाएर खाइन्छ जसलाई “ढक्कने” भनिन्छ र यसैलाई असलमा “दरखाने ” भन्दछन्। माछा-मासुले शरीरलाई ताकत र ऊर्जा दिन्छ भने घिउ-क्रीमले दिमाग र ज्ञान-वुद्धिको विकाश गराउँछ भन्नै वैज्ञानिक सोच-विचार भएकोले गर्दा त्यो दिन स-परिवार मिलेर केवल मीठो मीठो मात्र खाने गर्दछन् र यसैलाई दरखाने भन्दछन। अर्थात् दह्रो खानपान भएकोले गर्दै यसलाई “दर खाने” भनिएको हो भन्ने कुरा जानकारी पाइन्छ। यसरी नै यो पर्व सकिन्छ। 

    राति बाह्र बजे पछि एउटा नयाँ दिन तृतीयाको सुभारम्भ हुन्छ। महिलाहरूले बिहानै उठेर आफूसँगै घरलाई पनि भित्र-बाहिर परिस्कार पारि शुद्ध मन लिएर व्रतमा लीन हुन्छन्। यो व्रतलाई “हरितालिका” व्रत भन्दछन्। “हरितालिका व्रत” तीजको मुख्य आकर्षण हो। ‘हरित’ भनेको हरण गरिएको र ‘आलिका’ भनेको साथी-सङ्गी। साथीहरू द्वारा पार्वतीलाई हरण गरिएको हुनले यो हरितालिका भएको हो। पौराणिक आख्यान अनुसार हिमालयकी पुत्री पार्वतीले जटाधारी शिवलाई स्वामी रूपमा प्राप्त गर्ने उद्देश्यले आफू उपवास रहि शिवको आरधना गरेकी थिइन् र शिवलाई स्वामी रूपमा पाउन सफल भएकी थिइन्। तबदेखि नै आजसम्म नारीहरूको यो व्रत धारण प्रक्रिया निरन्तर चलि आएको छ। यही अकाट्य विस्वासका साथ पार्वतीको जस्तै गोर्खा विवाहिता महिलाहरूले उपवास रहि राता पहिरण र सुनका गहनादि लगाएर पतिको दीर्घायु र मङ्गल कामना गरी व्रत पालन गर्दछन्। तर कुनै कुनै विद्वानहरूको यो पनि भनाई छ कि तीज एउटा कृषिप्रधान चाडलाई आध्यात्मिकताको प्रलेप लगाएर एकदमै नयाँ रूपमा उपस्थापन गरिएको छ। चेली र माइतीको बीचको सम्बंधलाई तीजले प्रेम,आत्मीयता र बिस्वापूर्ण भावले बाँधेर राखेको छ। त्यो चिरन्तन सत्य हो। तर त्यो भनेर पत्नीले निर्जला व्रत बसेर पतिको दीर्घायु हुने चाहिँ पटक्कै हैन। वैज्ञानिक तथा वास्तविक दृष्टिले हेर्नु हो भनें, अघिलो दिन खाएको माछा-मासु, घिउ-क्रीम, तरकारी, नाना थरीका अचार,भात-भान्सा, दक्कने आदिको पाचनक्रियाको निम्ति मात्र उपवास रहनुको उद्देश्य हो। मद-मदिरा, चुरट,सुर्ती आदि अत्यधिक खाने र पीउने व्यक्तिलाई पत्नीले जति नै व्रत, उपवास राखेर पनि धेरै दिन बचाएर राख्न सक्दिन। त्यहाँ माथि धेरै धार्मिक महिलाहरू पनि अकालै विधवा भएको पनि उदाहरण छन्।

       रातो रङ्ग तेजस्वी र वीरताको प्रतीक हो। जस्तै कठोर परिस्थितिमा पनि, जस्तै दुख-कष्टमा पनि आफ्नो पति र परिवारको हित चिन्ता गर्नु, परिवारको रक्षा गर्नु हर नारीको धर्म हो। यही महान उद्देश्य अघि राखेर नारीहरूले हरितालिका नामले शिव-पार्वतीको पूजा गरि आएका छन्। हिजोआज अविवाहित छोरी-चेलीहरूले पनि यही कल्पकथामा आस्था राखि मनोवांछित वर पाउनको निम्ति यो उपवास राख्दछन्। युक्तितर्कले हेर्न जानु हो भने केवल उपवास बस्दै राम्रो बर पाईंदैन। जस्ले जस्तो कर्म गर्यौ त्यस्तै फल भोग्दछ यही संसारमा। असल कुरा शिक्षा हो। नारीको शिक्षा भएन भनें जतिनै व्रत-उपवास बसे पनि केही कुरामा पार तरिने हैन। फेरि व्रतहरू जति जे छन सबै नारीहरू माथि मात्र थोपिएको देखिन्छ। पुरुषवर्गले नारीहरुको निम्ति भनेर कुनै व्रत बसेको आजसम्म थाहा लागेको छैन। यस्तो पार्थक्य देख्दा नारी माथि पितृसत्तात्मक पक्रिया चलाउनकै निम्ति यस्ता नीति-नियमहरू बनाइएका हुन भन्ने कुरा बिस्वास लाग्छ। अर्को कुरा यही तीजको मौकामा आफ्ना दिदी-बहिनी, भाइ-भदा, फुपु-भाञ्जा-भाञ्जीहरू भेला भएर दु:ख-सुखका बात मार्ने, नाच-गान गर्ने जुन परम्परा हो यो अत्यन्त हर्षको कुरा हो। यसले सकारात्मक पक्षलाई बढावा दिएको छ।

     तीजमा परिवर्तन:-हिजोआज तीजपर्वमा निक्कै परिवर्तन भएको देखिन्छ। छोरी-बुहारीहरूले अघि अघिको जस्तो कष्ट गर्नु पर्दैन। धेरैजसो मानिस शिक्षित भएकोले गर्दा बुहारी पनि आफ्नो घरमा छोरी जतिकै भएर बस्न सकेका छन्। अपितु कुनै कुनै घरलाई छोडेर। शिक्षा देखि लिएर अन्य सुविधाहरू पनि पर्याप्त पाएका छन्। कोही चेली तीजको बेलामा पनि माइत नगएर आफ्ना सासू-ससुरा, नन्द-आमाजुहरूसँग बसेर तीज खाएर रमाउने गर्छन्, रमाइलो गर्छन्।

      हरितालिका व्रतको पूजा चाहिँ बेलुकी सबै महिलाहरू मिलेर सामूहिक रूपमा कुनै मन्दिर अथवा कुनै चोखो, पवित्र ठाउँमा एकत्रित भएर पूजारी द्वारा गर्दछन्। (कसै कसैले व्यक्तिगत रूपमा आफ्नै घरमा पनि गरेको देखिन्छ।) शिव-पार्वतीको पूजा सम्पन्न भए पछि भजन-कीर्तनका साथ खुशी -आनन्दमा रमाएर “आयो है तीज सबै मिली खुशी मनाउन” भन्दै ढोल, मञ्जिरा,मादल, करताल लिएर नाच-गाना गर्दछन्। सँगिनी गाउँदछन्।

“तीज है आयो नि लौ रमझम
चेलीको मन भुर्र उडछ
माइतीलाई सम्झेर।।
भदौरे महिनाको त्यो शुक्ल द्वितीया
आमाको हातको क्या मीठो पकवान
सम्झन्छु ढक्कनी।।
तृतियाको दिन हरितालिका मान्दै
हाँसी र खुशी साथी -सङ्गी मिली
पुज्दै शिव-पार्वतीलाई।। “

     भिन्न भिन्न ठाउँमा बिहे भएर माइत आएका चेलीहरूको भेटघाटले परिवेश अत्यन्त आनन्दमय हुन्छ। सबैले आफ्नो आफ्नो दु:ख-सुखका बात मार्छन्। अन्तमा सबै कार्य सम्पन्न भए पछि प्रसाद वितरण गर्दछन् र घर पुगेर बिवाहिता महिलाहरूले आफ्नो पुरुषको हातबाट पानी पिएर व्रत खोल्दछन्। राति फेरि अन्न ग्रहण नगरेर रोटी-तरकारी, फलाहार खान्छन्। तीजको व्रतलाई अत्यन्त कष्टकर भनेर ठानिन्छ। किनभने यो व्रतमा नारीहरूले जल पनि ग्रहण गर्दैनन्। तर हिजोआज सचेत नारीहरूले जल ग्रहण नगर्ने कुरामा कुनै वैज्ञानिक युक्ति छ भनेर ठान्दैनन। कारण विज्ञानले पनि हप्तामा एकदिन केवल जल मात्र पिएर उपवास रहनु भन्दछ। जल एउटा यस्तो पेय हो जसले हाम्रो भित्र रहेका सबै नराम्रा तत्व, फोहोर-मैलोलाई मुत्र,पसिना द्वारा निकालि फ्याँक्छ। बिहानदेखि बेलुकैसम्म जल नपिई बस्दा धेरै जसोलाई नै एसीडिटि, ग्यास र कमजोरी आएर उल्टै बिमारी भएको पनि देखिन्छ। त्यसैले जल पिउँदा नारी धर्ममा कुनै व्याघात जन्मिन्छ अथवा धर्म नष्ट हुन्छ भन्ने कुरामा कुनै किसिमको युक्ति छैन। साँचो भन्नु हो भने मानिस दीर्घायु र स्वस्थ हुने अस्त्र अहिले आफ्नै हातमा छ। उसको सन्तुलित भोजन,नित्यकर्म,शारिरीक व्यायाम,नियमित जीवनशैली, सुन्दर सोच-विचार आदिले मात्र मानिस दीर्घायु हुने सम्भावना देखिन्छ।
       धर्ममा कुनै अन्धविश्वासले स्थान नपावोस त्यो चाहिँ नारीहरूले विशेष ध्यान दिने कुरा हो। धर्मले संस्कार हुन सिखाउँछ। संस्कार भनेको नै कुनैपनि अन्धतालाई छोडेर सुचिन्तन, सुमार्ग लिएर कर्ममा लिन हुनु हो। यो पनि हो कि हरितालिका व्रतसँग गोर्खा नारीहरूको आध्यात्मिक भावना जुडेको छ । यस व्रतद्वारा नारीहरूले ईश्वर तत्वसँग एकाकार भएर सांसारिक उपलब्धिहरूलाई जय गर्ने प्रवल मानसिकता राखेको देखिन्छ। तर हर कुरामा हिजोआज वैज्ञानिक दृष्टिकोण राख्न पनि अति आवस्यक छ। परिवारमा, समाजमा भएको अपसंस्कृति बारे नारी सजग र सचेतन हुनु, उचित ठाउँमा आवाज उठाउनु यो नारी कै निम्ति शुभप्रद हुनेछ।

     तीज उत्सवमा गाउने गीतहरूको एउटा विशेष महत्व छ। यी गीतहरूलाई “सँगिनी गीत” भनिन्छ। सँगिनी गीतहरू विषाद पूर्ण हुन्छन्। सँगिनी गीतमा गोर्खा नारीहरूको दु:ख-पीडा, प्रेम-विरह,रोदन, शोकाकुल अभिव्यक्ति प्रस्ट भएको देखिन्छ। तीजमा माइती घरबाट कोही लिन आएनन भने छोरीको मन यसरी तडपिन्छ–

माइतीले माया मार्यो बरिलै
सिन्दुरे खोलो जन्मेको थलो
सात डाँडा पारी पुर्यायो साह्रै
माइतीले माया मार्यो।

      फेरि जब माइती लिन आउँदछन तब उसको खुशीको सीमाना रहँदैन। अति उत्साही भएर लुगा-कपडा, गरगहनाहरू ठिक्क पारेर सासू-ससुरालाई माइत जाने अनुमति माग्दा र अनुमति नपाउँदा रूँदै रूदै गाउँछे यसरी–

शिरैमा लाउने शिरफूल लाउँला भनि झिके थ्ये
ससुराको वचनले भूँइमा राखे थ्ये…………..।

    गणेश चतुर्थीका दिन पनि नारीहरूले गणेशको पूजा गरेर कसै कसैले उपवास रहने गर्छन्। लगातार व्रत बस्दा स्वास्थ्य हानी हुने डर हुन्छ। विज्ञानले हप्तामा एकैदिन केवल पानी मात्र पीएर उपवास रहँदा स्वास्थ्यको उन्नति हुने कुरा हामीलाई जान्न दिएको छ। धर्मीय आख्यानुसार चतुर्थीको चन्द्र दर्शन भयो भने व्यर्थैमा आफूलाई केही दोष आई लाग्छ र अर्काका घर-बारीमा गइ केही अनिष्ट गरि दिँदा त्यो दोषबाट मुक्ति पाइन्छ भन्ने विस्वास छ। तर अचेल भरि शिक्षितको हार(संख्या) धेरै भएकोले र अर्काको अन्याय गर्दा अपराध हुन्छ भन्ठानेर यो कर्म गर्न छोड्दै आएका छन्। अर्काको अन्याय गर्दा आफ्नो दोष काटिनु, पुण्य लाभ हुने कुरामा पनि कुनै जोड छैन। अपितु अर्कालाई अन्याय गर्दा अपराधी बनिने डर हुन्छ। यो कुरा सही हो। 

      पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनि मान्दछन्। यो एउटा संस्कार पूर्ण धर्मीय आवेग जडित अनुष्ठान हो । रजस्वला नारीले अनजानैमा गरेको केही गलतीको प्रायचित्त गर्नको निम्ति तुलसी, पीपल, अमला, आँपको जराको माटो, अपमार्ग, फूल-प्रसाद-नैवेद्य, दियो-धुप…आदि सामग्रीहरू तयार पारी नदी-घाटमा गइ विधि अनुसार नुहाई-धुवाई गरि शिव-पार्वतीको पूजा गरि यो व्रत लिन्छन्। यो भयो आध्यात्मिक सोच-विचारको कुरा। तर असलमा जहाँसम्म प्रायचित्त को कुरा हो, यो कुनै पाप हैन। विज्ञानले भनेको छ रजस्वला हुनु एउटा सम्पूर्ण प्राकृतिक प्रवृत्ति हो। यसमा दोष लाग्ने केही कुरा छैन। प्राचीन धर्मग्रन्थहरूमा रजस्वला महिलालाई पापिनी भनिएको छ। रजस्वला महिला द्वारा केही छोइयो भने, उसले छोएको खायो भने त्यो पाप हुन्छ भन्नु मित्था हो। यो समयमा नारीलाई तिन -चार दिनसम्म कुनै कष्टकर काम नलगाई केवल आराम गर्न दिनु पर्ने हो। नारीको शरीर यसबेला साह्रै दूर्बल भएको हुन्छ। मनमा अत्यन्त चाह हुँदाहुँदै पनि उनीहरू कमजोरीको कारण कुनै शुभकार्य,धार्मिक अनुष्ठान आदिमा जान सक्दैनन। (जान बाधा छ) तर यही शारिरीक रूपले अस्वस्थ भइ “नसक्ने ” कुरालाई “हुँदैन” र “छि: छि: दुर दुर” गरी, पापको प्रलेप लगाई धर्मका ठेकेदारहरूले नारीलाई र उसको कोमल भावनालाई वशमा राख्नको निम्ति यो रूडीवाद फैलाएको हो। छाई-छुत हुन्छ भनेर रजस्वला नारीलाई भान्सा घरमा पस्न नदिए तापनि खेत-बारी, नौकरी-चाकरी अथवा अन्य काममा चाहिँ रटाउनु रटाएको देखिन्छ। सरकारी जागिर खाने नारीहरूले यस अवस्थामा पनि विभिन्न क्षेत्रमा आफ्नो सेवा पुर्याएरै आई रहेका छन्। आफ्नो परिवार चलाएर आएका छन्। तब पाप कहाँ लाग्दछ? रजस्वला नभए संसारको कुनै सृष्टिको कल्पना गर्न सकिँदैन। यो यस्तो जटिल समय हो,सरकारले पनि महिनामा तिन/चार दिनसम्म नारीहरूलाई विश्रामको निम्ति सुविधा प्रदान गरे अति उचित हुने हो।
आजका धेरै शिक्षित नारीहरूले रजस्वला कुनै “पाप” हैन भनेर बुझि सके तापनि कतिपय भित्री गाउँ-ठाउँहरूमा अझै पनि आफूलाई “अपवित्र” मानि यो विधि गरि आएको देखिन्छ। नारी स्वाबलम्बन, कर्ममय व्यस्त जीवम, सहरमुखी प्रवनता, पर्याप्त उपकरणको अभाव र वन ध्वंश हओस अथवा वैज्ञानिक सोच-विचारको प्रभाव परेर हओस सहरका नारीहरूले यो विधि गर्न सक्षम भएको देखिँदैन। तर जबसम्म नारीको स्वयं आत्मसम्मानवोध जाग्दैन, विवेक प्रज्वलित हुँदैन,शिक्षा प्रति ध्येय जाग्दैन,अन्धविश्वास र रूडीवादलाई अँगाल्न छोडदैनन, नारीले एकार्कालाई सम्मानको दृष्टिले हेर्दैनन,तबसम्म नारीजातिको उद्धार हुने छैन।

     धार्मिक आस्थाहरूले मानिसको मनलाई एउटा दिशा प्रदान गर्दछ, संस्कारित बनाउँछन्। धर्म-संस्कारले कसैलाई तुच्छ-ताच्छिल्य गर्दैन। कसैको प्राकृतिक गतिधारा माथि पापबोधको मोहर लगाउँदैन। धार्मिक रीति-नीति प्रति नारीहरूको बेजोड आस्था रहे तापनि कतिपय कर्म-कुराहरूमा आफ्नो सही चिन्ता-विवेक, वैज्ञानिक दृष्टिकोण कायम राखे मात्र जीवन सफल हुन्छ।

        तीज हाम्रो संस्कृति हो। हिन्दूधर्मी नारीहरूको प्रेम,आस्था र विस्वासको प्रतीक हो। तीज आउने पन्द्र-बिस दिन अघि देखिनै हिजोआज ठाउँ ठाउँमा “सँगिनी” आदिको अखाडा चल्दछ। तीज महोत्सव मनाउँछन। तीजको महत्व, यसको मौलिकता बारेमा कुनै विशिष्ट व्यक्ति द्वारा चर्चा हुन्छ। आफ्नो जातीय पहिरण पहिरिएर नृत्य प्रदर्शन गर्नुको उपरांत पनि विभिन्न भेष-भुषा धारण गरेर आफ्नो सृजनात्मक कला प्रदर्शन गरेको देखिन्छ। यो आफ्नो जातीय कला-कृष्टिको निम्ति अत्यन्त राम्रो कुरा हो।

    अर्कातिर फेरि सस्तो बजार हथियाउन र छिट्टै जनप्रिय हुनलाई तीजका विभिन्न गीत-भिडिओहरू पनि दोकान-बजारमा उपलब्ध भएका छन्। अर्धाङ्ग देखिने लुगा लगाएर, पश्चिमे ढङ्गमा कतिपय महिलाहरूले नृत्य गरेकोनि यही बेलामा देखिन्छ। तथ्यानुसार विदेशमा भएका कतिपय सम्भ्रान्त घरका नारीहरूले यही मौकामा नयाँ नयाँ दामी वस्त्र, अलंकार आदि किनेर फैशन सो र अश्लील नृत्य गरेको देखिन्छ। तीजको नृत्यको आडमा यसको मौलिकतालाई हनन गरेको धेरै भिडियोहरू सामाजिक माध्यमद्वारा भाइरल भएको देखिएको छ। महिना दिन अघि देखिनै होटल,रेस्टुरेंट, प्यालेस मा गइ पार्टी गर्ने,तीजखाने र खुवाउने चलन छ। तीज जस्तो भावनात्मक उत्सवको गरिमालाई बुढी औंलो देखाउँदै कतिपय महिलाहरूले हातमा मदिराको गिलास बोकेर “चियर्स” गरेको पनि सोसल मिडियामा देखिँदैछ। यसले तीजको गरिमा तथा विशेषतालाई निक्कै असर पार्दछ,पारि रहेको छ। एउटा बिराउने शाखा पिराउने। यसो गर्नु भनेको अन्य धर्म,जाति-जनगोष्ठीका मानिसहरूलाई ठट्टा गर्ने अवसर दिनु हो। त्यो मात्र नभएर कुसंस्कृतिलाई निम्ताउनु हो। नेपाल जस्तो गरिमामय देशका कतिपय सम्भ्रान्त घरका उदण्ड-उच्चाकाङ्खी महिलाहरूले तीजको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वलाई निक्कै ठेस पुर्याएको देखिँदैछ। यो अति लज्जाको कुरो हो। यस्ता कार्यहरूको निम्ति नेपाल कै विद्वान समाज र सोसल मिडियाहरूले पनि तीव्र समालोचना गरेका छन्।
यही प्रचलन रह्यो भने आउने पीँडीहरूको निम्ति यो अत्यन्त घातक बन्ने छ, त्यसमा कुनै शङ्का छैन। नारीहरूले विचार गर्नु हवस। यस्तो कार्यकलापले संस्कृति माथि त कालो दाग लाग्छ नै अन्य देशमा बसोवास गर्ने चेली-बेटीहरूलाई पनि कुनजरले हेरिन्छ।

         फेरि परम्परा अनुसार तीज एउटा विशेष दिनमा मनाउँदै आएको हुनले यही परम्परा नै अटुट रहेको राम्रो हुन्छ। हिजोआज जताततै दीर्घदिनको कार्यक्रम लिएर दरखाने र तीज-तिहार समारोह आदि गरेको देखिन्छ। कुनै पनि लोककला-कृष्टिको चर्चा, संरक्षण व संवर्धन गर्नु अत्यन्त खुशीको कुरा हो। तर यस्तो दीर्घकालीन समारोह आदि गरी रहँदा समयको अपव्यवहार, खर्चिलो धेर र मितव्ययी कम हुने थल रहेको देखिन्छ। यस्तो अर्थहीन खर्चले आफ्नो तथा देशका गरीबहरूलाई नराम्रो असर पार्दछ। अर्को कुरा देश हवस अथवा विदेश चाड-पर्वको बेलामा फैशन सो गर्ने हुँदा, नृत्य गर्ने हुँदा आफ्नै विभिन्न जातीय पहिरण, अलङ्कार आदि लगाएर गर्नु हो भने त्यो अति नै प्रेरणादायी, शोभायमान दिखिने थियो त्यो कुरा सबैले बुझ्नु पर्छ। उठि आएका नवप्रजन्मलाई यहाँबाट आफ्नो कला-संस्कृतिबारे धेरै कुरा सिक्ने अवसर मिल्ने छ। यसले तीजको मौलिकतामा अझ सघाउ पुर्याउने छ। नत्र तीजको नाममा सोसल मिडियामा यस्तो भडकिलो नृत्य परम्परा चलाउन खोज्ने कतिपय उदण्ड कार्यकलापहरूले संस्कृतिलाई निश्चय हानि पुर्याउने छ। ती दिदी-बहिनहरूलाई आह्वान छ संस्कृतिको यस्तो खुल्याम-खुल्ला बैज्यती नगर्नु हवस।

       सुदुर पश्चिमका विद्वान म्याथु अनोर्ल्डका अनुसार “समाज र राष्ट्र परिचित हुने कुनै पनि राष्ट्रको उपलब्धि” संस्कृति हो। साधारण जीवन-यापन, साधारण लवाईखवाईले पनि तीज पर्व मनाउन सकिन्छ। त्यसको निम्ति चाहिन्छ सद्भावना, सत्कार, सुचिन्तन र आत्मसंयम। तीज एउटा यस्तो पर्व हो जसले दिदी-बहिनी, माइती, आत्मीय -कुटुम्ब, दाजु-भाइ, सखा-सखी आफ्नो-परायो सबैलाई एक सूत्रमा बाँधि राख्दछ।
उपसंहारमा भन्नु पर्दा मानवीय प्रमुल्य, भातृत्वबोध, नैतिक चिन्ता र आध्यात्मिक चैतन्य जगाउने यो उत्सवले नारी हृदयको कोमल अनुभूति र आत्मसम्मानलाई चिर मर्यादा दिँदै आएको छ। सु-संस्कृतिको साक्षी वहन गर्ने यस तीज उत्सवले गोर्खा नारीहरू प्रति रहेको समाजको दायित्व र कर्तव्यबोधलाई सँधै स्मरण गराई रहने छ। नारीहरूले सु-संस्कृति, स्वधर्मलाई नबिर्सि समय-परिस्थिति अनुसार जस्तै दु:ख,पीडा, प्रत्याह्वानसँग पनि लडदै कर्मक्षेत्रमा अघि बढदै आएका छन्। आफू माथि भएको अन्याय,अत्याचार,शोषन , हिंसा, अन्धविश्वास आदिको विरूद्धमा आवाज उठाउन सक्ने अटुट मनोबल जाग्रत हवस र आफ्नो संस्कार-संस्कृति प्रति पनि जागरुकता बढोस्। यही नै हरितालिका तीजको असल गूढतत्व बनि रहोस।

अस्तु।